चन्द्रागिरि तेक्वान्दो डोजाङले आफ्नो १२औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्यतापूर्वक सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष सन्तोषी महर्जनको अध्यक्षता तथा संस्थापक एवं डोजाङ प्रमुख सुवास तामाङको निरन्तर मार्गदर्शन र अथक प्रयासमा यस संस्थाले १२ वर्षको सफलतापूर्वक यात्रा तय गर्दै तेक्वान्दो खेलको विकासमा महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेको छ।
कार्यक्रमको कुशल सञ्चालन डोजाङका प्रमुख सल्लाहकार, संरक्षक तथा समाजसेवी महेन्द्र तामाङले गर्नुभएको थियो। संस्थाको विकासमा महत्त्वपूर्ण अभिभावकत्व ग्रहण गर्दै आउनुभएका उहाँको सञ्चालन र प्रेरणादायी उपस्थितिले कार्यक्रमलाई थप व्यवस्थित र ऊर्जावान् बनाएको थियो।
स्थापना दिवसको यस विशेष कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राकेश कुमार राईले विशेष अतिथिको रूपमा कार्यक्रमको शोभा बढाउनुभएको थियो।
यस गौरवमय अवसरमा डोजाङले उत्कृष्ट प्रतिभाहरूलाई सम्मान समेत गरेको छ। डोजाङ प्रमुख सुवास तामाङको प्रशिक्षण र निगरानीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका बाजुरा, बुढीनन्दा नगरपालिका-५ स्थायी घर भई हाल चन्द्रागिरि-३ मा बस्दै आएका सौरभ मल्ललाई ‘वर्ष उत्कृष्ट खेलाडी’ को उपाधिबाट सम्मान गरिएको छ। त्यसैगरी, राकेश आले मगरलाई ‘अनुशासित खेलाडी’ को रूपमा पुरस्कृत गरिएको थियो।
कार्यक्रममा तेक्वान्दो खेलको प्रवर्द्धन, खेलाडीहरूमा अनुशासनको विकास र युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्न चन्द्रागिरि तेक्वान्दो डोजाङ, यसकी अध्यक्ष सन्तोषी महर्जन, संस्थापक सुवास तामाङ र सिङ्गो नेतृत्व पङ्क्तिले पुर्याएको अतुलनीय योगदानको उच्च प्रशंसा गरिएको थियो। युवा पुस्तालाई खेलकुदमा जोड्ने डोजाङको यस अभियान निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत कार्यक्रममा व्यक्त गरियो।


































































